मोरङ प्रहरीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–७ गोल्छा चोक पुर्व उधोगी बेनी गोपाल मुन्दडाको घरमा करिब पाँच घण्टासम्म खानतलासी गरेको छ। प्रहरीका अनुसार खोजीका क्रममा कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको भए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष सूचनाका आधारमा प्रहरी टोली बिहानै मुन्दडाको घरमा पुगेको थियो। कानुनी प्रक्रिया पूरा गर्दै गरिएको खानतलासीका क्रममा सूचनामा उल्लेख भएअनुसारका गैरकानुनी वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार प्रहरी टोली बिहान करिब ५ बजेदेखि घरमा प्रवेश गरी करिब पाँच घण्टासम्म खानतलासीमा संलग्न भएको थियो।
खानतलासीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बेनी गोपाल मुन्दडाले यो प्रहरीको नियमित प्रक्रिया भएको बताए। उनले आफ्नो घरबाट कुनै पनि गैरकानुनी सामग्री बरामद नभएको उल्लेख गर्दै आफूले “क्लिन चिट” पाएको दाबी गरे।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जारी गरेको विज्ञप्तिमा यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।