धनकुटाको साँगुरीगढी गाउँपालिकाअन्तर्गत नाम्जे क्षेत्रमा पर्ने भेडेटार–थुम्की–लबडाँडा सडकखण्ड ६ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
भेडेटार–रवि–राँके निर्माणाधीन खण्डअन्तर्गतको उक्त सडक गत फागुन २९ गते बिहान माथिबाट खसेको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको थियो । पहिरोसँगै लगातारको वर्षाले अवस्था झन् जटिल बनाउँदा सडक खुलाउन ठूलो संघर्ष गर्नु पर्यो ।
सडकमा थुप्रिएको माटो हटाउन प्राविधिक तथा उपकरणीय चुनौती देखिँदा आवागमन लामो समय प्रभावित बन्यो । यात्रुहरू लामो समयसम्म अलपत्र परेका थिए भने वैकल्पिक मार्गसमेत प्रभावकारी हुन सकेको थिएन ।
निर्माण कम्पनी एपीसीओ इन्फ्राटेक प्रा.लि र सुरक्षाकर्मीको संयुक्त प्रयासमा अवरोध हटाएर सडक सञ्चालनमा ल्याइएको हो । निरन्तरको प्रयासपछि पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याउन सकिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्स्पेक्टर महेश भट्टराईले बताए ।
सडकमा अझै जोखिम रहेका कारण यात्रा गर्ने यात्रु र सवारी चालकले विशेष ध्यान पुर्याउन आवश्यक रहेको उनले उल्लेख गरे ।साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले सडक खुलेसँगै सवारी आवतजावत सहज भए पनि जोखिम भने कायमै रहेको जानकारी दिए ।