.

रामधुनीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकल यात्री घाइते

 सुनसरीको रामधुनीमा बिहीबार बिहान तरकारी बोक्ने पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा साइकल यात्री गम्भीर घाइते भएका छन् ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनी नगरपालिका–५ लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको शब्जी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकल यात्रीलाई एकैपटक ठक्कर दिँदा दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार पैदलयात्री रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।


दुर्घटनामा घाइते भएका साइकल यात्री इटहरी उपमहानगरपालिका–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकीको विराटमै उपचार भइरहेको छ । अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


ठक्कर दिने पिकअपको नम्बर खुलेको छैन । दुर्घटना गराएर फरार रहेको पिकअप र चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया