कोशी प्रदेश सभाको नवौँ अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
उनका अनुसार प्रदेश सभाको बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा अपराह्न ३ बजेदेखि बस्नेछ ।
मन्त्रिपरिषद् बैठकले तथ्यांक नियमावली २०८२ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ । साथै, कोशी योजना आयोग गठन संशोधन आदेश २०८३ लाई कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाउने निर्णयसमेत गरिएको छ ।
त्यस्तै, योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले प्रदेश सचिवका रूपमा सरुवा भएर आएका रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।