.

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीले जवाफ दिने, आजै प्रि–बजेट पेश गरिँदै

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा जारी छलफल आज सकिँदैछ। छलफल सकिएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको नवौँ अधिवेशनको छैटौँ बैठकको कार्यसूची अनुसार, गत जेठ ७ गते प्रदेश प्रमुखले प्रदेशसभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहनेछ। छलफलको क्रम सकिएपछि मुख्यमन्त्री कार्कीले सांसदहरुले उठाएका जिज्ञासा, सुझाव र आलोचनाहरूको सरकारको तर्फबाट स्पष्टीकरण दिने तयारी गरेका छन्।

मुख्यमन्त्रीको सम्बोधन र जवाफपछि सभामुखले उक्त नीति तथा कार्यक्रमलाई निर्णयार्थ सभामा प्रस्तुत गर्नेछन्। सदनबाट पारित भएपछि सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि थप बाटो खुल्नेछ।

इसैबिच

आजको बैठकको अर्को महत्वपूर्ण कार्यसूचीका रूपमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ (प्रि–बजेट) प्रस्तुती रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आर्थिक वर्ष २०८३÷०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।


बजेट ल्याउनुपूर्व सदनमा प्रि–बजेटमाथि छलफल गर्ने संवैधानिक व्यवस्था अनुसार मन्त्री लिङ्थेपले सरकारको आगामी बजेटको प्राथमिकता, स्रोत व्यवस्थापन र खर्चका मुख्य क्षेत्रहरूका बारेमा संसदलाई जानकारी गराउनेछन्। यस प्रस्तावमाथि आगामी बैठकहरूमा सांसदहरूले दफावार छलफल गर्नेछन् र प्राप्त सुझावका आधारमा सरकारले असार १ गते पूर्ण बजेट ल्याउनेछ।


प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ। आजको बैठकमा विशेष गरी विपक्षी दलका सांसदहरूले उठाएका प्रश्नहरूको मुख्यमन्त्रीले कसरी सम्बोधन गर्छन् र सरकारले बजेटका के–कस्ता प्राथमिकताहरू अघि सार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया