.

मोरङ उर्लाबारीको बक्राहा खोला किनारमा महिलाको शव फेला

मोरङको बक्राहा खोला किनारमा मंगलबार बिहान एक जना महिलाको शव फेला परेको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिजनजिक काँसघारीमा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार उक्त शव ४ दिनदेखि हराइरहेकी उर्लाबारी–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको हो । उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी सविता जेठ ९ गते शनिबारदेखि हराइरहेकी थिइन् । स्थानीयले राँगा चराउन जाँदा बक्राहा खोला किनारको काँसघारीमा शव देखेपछि बिहान ७ः४० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वली नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । प्रहरीका अनुसार परबाट हेर्दा शव सुन्निएको र घोप्टो परेको अवस्थामा छ । मृतकको सनाखत उनले लगाएका कपडाको आधारमा श्रीमान दिलबहादुर लिम्बूले गरिदिएका हुन् ।


घटनाका बारेमा माइती पक्षलाई पनि जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । तेह्रथुममा रहेका माइती पक्षले आफूहरु आइनपुगेसम्म शव नचलाउन प्रहरीलाई आग्रह गरेका छन् । 

घटनास्थल उर्लाबारी चोकबाट करिब ७ किलोमिटर उत्तर–पश्चिममा पर्छ । मृतक सविता गत शनिबार बिहान ९ बजेतिर परिवारका सदस्यलाई जानकारी नदिइकन घर छाडेर हिँडेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया