मोरङको रंगेलीस्थित इलाका प्रशासन कार्यालयमार्फत पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा सेवाग्राहीलाई सहज र नजिकबाट सेवा दिने उद्देश्यसहित रंगेलीमा नागरिकता वितरण सुरु गरिएको हो । आमाको नामबाट नागरिकता वितरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी युवराज कटेल आफैं रंगेली आएका थिए ।
उनले स्थानीय तहमै पुगेर सेवा दिने नीति अनुसार इलाका प्रशासन कार्यालयहरू मार्फत नागरिकता वितरण कार्यलाई विस्तार गरिएको जानकारी दिए । यसै क्रममा रंगेली नगरपालिका–६ का कपिल कर्मकार र विदुर कर्मकारले मंगलबार आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । बुबाको निधन भइसकेकाले आमा फुलोदेवी मिस्त्रीको नामबाट उनीहरुलाई नागरिकता प्रदान गरिएको हो ।
नागरिकता हस्तान्तरण कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला, इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रोशन अधिकारी, कर्मचारीहरू निर्मल खतिवडा, दाताराम श्रेष्ठ, ऋषि पोखरेल, चन्द्रप्रकाश कर्णलगायतको उपस्थिति थियो । इलाका प्रशासन कार्यालयका कर्मचारीको सक्रियता एवं समन्वयमा प्रजिअ कटेल रंगेली नै आएर आमाको नामबाट नागरिकता वितरण गरेका हुन् ।
यस्तै, आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि रंगेली क्षेत्रबाट आवेदन दिएका अन्य २१ जनाको स्वीकृति प्रमुख जिल्ला अधिकारीबाट भइसकेको छ । स्वीकृति प्राप्त सबैलाई नागरिकता वितरण गरिने इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रोशन अधिकारीले जानकारी दिए ।
आमाको नामबाट नागरिकता वितरण हुन थालेपछि स्थानीयले राहत महसुस गर्न थालेका छन् । नागरिकलाई नागरिकताजस्तो आधारभूत अधिकार प्राप्तिमा प्रशासनले सहजीकरण गर्ने प्रजिअ कटेलको भनाइ छ ।