विराटनगर–रानी नाकाको ३ नम्बर ढाटस्थित सिटी सफारी पार्किङ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा अहिले सो क्षेत्र अस्तव्यस्त बनेको छ । अव्यवस्थित पार्किङ, लागुऔषध सेवन गरेर सवारी चलाउने चालक तथा ट्राफिक निगरानीको अभावका कारण यात्रु , स्थानीय व्यापारी र सिटी सफारी चालकहरू समस्यामा परेका छन् ।
स्थानीयका अनुसार जोगबनीबाट नेपाल प्रवेश गर्ने केही सिटी सफारी चालकहरूले लागुऔषध सेवन गरेर सवारी चलाउने, जथाभावी पार्किङ गर्ने तथा यात्रुरुहरूसँग दुव्र्यवहार गर्ने गरेका कारण समस्या झन् बढ्दै गएको हो । नेपालबाट जोगबनीतर्फ जाने यात्रुहरू पनि अव्यवस्थित पार्किङका कारण दैनिक सास्ती खेप्न बाध्य छन् । हाल उक्त क्षेत्रको ट्राफिक व्यवस्थापन रानी ट्राफिकमार्फत हुँदै आएको छ । केहि दिन देखि त्यसक्षेत्रमा रानी ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रविन खड्काको नेतृत्वमा ६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । दुई नम्बर ढाटमा भने एक जना ट्राफिक खटाइएको छ तर ३ नम्बर ढाटमा ट्राफिक नहुँदा अहिलेको समस्या देखिएको हो ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले यसअघि लापसे परीक्षण सञ्चालन गरिएको जानकारी दिए ।
स्थानीय तथा चालकहरूले रानी नाकाको संवेदनशील क्षेत्रमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन, अव्यवस्थित पार्किङ नियन्त्रण गर्न र लागुऔषध सेवन गरी सवारी चलाउनेमाथि नियमित निगरानी तथा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । हिजो मात्रै मोरङ प्रहरीले लागुऔषध विरुद्ध महाअभियान सुरु गरिरहँदा बोर्डर क्षेत्रमा लागुऔषधको विषयमा यसरी आवाज उठिरहँदा गम्भिर प्रस्न खडा भएको छ ।